• Jana Kura

    • 2020-11-19

    खोटाङ । अधिक रक्तश्रावका कारण बिरामी परेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना भएकी कविताको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर राजधानी काठमाडौँ पठाइएको हो ।

    सुत्केरी व्यथा लागेर अस्पताल आउनुअघिदेखि नै अधिक रक्तश्राव भएपछि बिरामी परेकी कवितालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको अस्पतालका मेडिकल अधिकृत डा मनिष पौडेलले बताए ।

    “कविताको शरीरबाट धेरै ब्लड गएको छ”, उनले भने, “उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले हाम्रो अस्पतालमा उक्त सुविधा नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको हो ।”

    राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार गरिएकी कविताको काठमाडौँ पु¥याउनासाथ उपचार शुरु भएको आफन्तले जनाएका छन् । कविताको गर्भमा रहेका बच्चाको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

    दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएपछि जिल्लाका आधा दर्जन बढी महिलाको उद्धार गरिसकिएको छ ।

    यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी), जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राई, एेँसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्ककी सिर्जना तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रविता विश्वकर्मा, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विश्वकर्मा लगायतको उद्धार गरिएको थियो ।

    दश स्थानीय तह रहेको जिल्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु हुनुअघि चर्को मूल्यमा निजी हेलिकप्टर चार्टर गरेर उपचारमा पठाउनुपर्ने बाध्यता थियो ।

    नेपाल सरकारले उक्त कार्यक्रम शुरु गरेर निःशुल्क सेवा दिन थालेपछि गरिब परिवारका महिलाले पनि अकालमा ज्यान फाल्नुपर्ने बाध्यता हटेको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै