काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन मात्र गरेर स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार नआउने बताएका छन्। उनले स्वास्थ्य प्रणालीलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन दीर्घकालीन योजना तथा व्यवहारिक नीतिगत सुधार आवश्यक रहेको बताएका हुन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरण नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधार र स्पष्ट नीतिगत व्यवस्थाको संयोजनबाट मात्र सम्भव हुने उल्लेख गरे।
उनले भने, “अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज स्वास्थ्य सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था रहँदैन। स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना र व्यवहारिक समाधानबाट मात्र सम्भव हुन्छ।”
पौडेलका अनुसार आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा सर्वसुलभ मूल्यमा औषधि उपलब्ध गराउने, देशभर औषधिको समान मूल्य कायम गर्ने तथा आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय स्तरबाट बोलपत्र आह्वान गर्ने र स्थानीय तहमार्फत खरिद व्यवस्थापन गर्ने तयारी गरिएको थियो।
उनले जेनेरिक औषधिको मूल्य निर्धारण, औषधिको मूल्य समायोजनसम्बन्धी नीतिगत व्यवस्था तथा आवश्यक अध्ययन प्रतिवेदनसमेत तयार गरिएको जानकारी दिए। साथै औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक तथा औषधीय गुण भएका अतिरिक्त खाद्यपोषण सामग्रीको नियमन र व्यवस्थापनका लागि नयाँ विधेयक तथा औषधिको स्वच्छ मूल्य निर्धारणसम्बन्धी निर्देशिका तयार गरी सरोकारवाला मन्त्रालयमा रायका लागि पठाइएको बताए।
पौडेलले तत्कालीन अवस्थामा बजेट निर्माण प्रक्रिया अघि बढिसकेकाले सबै नीतिगत व्यवस्था एकै आर्थिक वर्षमा कार्यान्वयन गर्न चुनौती रहेको भए पनि त्यसपछिको बजेटमार्फत आवश्यक व्यवस्थापन गरिएको उल्लेख गरे। तर, राजनीतिक परिस्थितिमा आएको परिवर्तनका कारण ती महत्त्वपूर्ण सुधार योजनाले अपेक्षित गति लिन नसकेको उनको दाबी छ।
पूर्वमन्त्री पौडेलले वर्तमान सरकारलाई स्वास्थ्य क्षेत्रको प्रणालीगत सुधार, औषधि व्यवस्थापन र नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने दीर्घकालीन योजनामा केन्द्रित हुन आग्रह गरेका छन्।