मुगु । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका २५ वर्षीय गणेश नेपालीको पुर्खौली गाउँ अहिले शोकमा डुबेको छ। उनको जन्मघर सुनसान बनेको छ भने गाउँभरि पीडाको वातावरण छाएको छ।
मुगुको सोरूँ गाउँपालिका–१ अन्तर्गत पर्ने जलधारा गाउँ, सदरमुकाम गमगढीबाट करिब ६ घण्टाको सडक यात्रापछि पुगिने स्थान हो। गणेशको निधनको खबर पुगेपछि गाउँका बासिन्दा स्तब्ध भएका छन्।
रोजगारीको अभावका कारण गणेश परिवारसहित भक्तपुरमा बस्दै आएका थिए। उनले राइड–सेयरिङ सेवा (पठाओ) मार्फत मोटरसाइकल चलाएर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएका थिए।
स्थानीय पदमबहादुर मल्लका अनुसार गणेशको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। उनले चलाइरहेको मोटरसाइकलसमेत भाडामा लिएको थियो। यस्तो अवस्थामा राज्यले शोकाकुल परिवारको संरक्षण गर्दै आवश्यक राहत र सहयोग उपलब्ध गराउनुपर्ने उनले बताए।
अर्का स्थानीय सुरेश साहीले पनि गणेशको परिवार न्यून आयस्तरमा जीवनयापन गर्दै आएको बताए। उनका अनुसार परिवारसँग थोरै मात्र जग्गा छ, त्यो पनि अहिले बाँझो अवस्थामा रहेको छ। उनले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र राज्यले नागरिकप्रति आफ्नो जिम्मेवारी महसुस गराउन आवश्यक रहेको धारणा राखे।
स्थानीयहरूका अनुसार गरिबी र आर्थिक अभावसँग संघर्ष गरिरहेका एक युवाको यसरी दुःखद निधन हुनु अत्यन्तै पीडादायी घटना हो। उनीहरूले परिवारलाई न्याय, राहत र आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
गणेश भक्तपुरमा परिवारसँग डेरा गरी बस्दै आएका थिए र राइड–सेयरिङ एपमार्फत राइडरको रूपमा काम गर्थे। प्रत्यक्षदर्शीका अनुसार बिहीबार काठमाडौं महानगरपालिकाका प्रहरीले उनले रोकेर राखेको मोटरसाइकलमा ह्विल लक लगाएर नियन्त्रणमा लिन खोजेपछि विवाद भएको थियो।
त्यसपछि उनले राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको हो। चिकित्सकहरूले उनको अवस्था अत्यन्तै गम्भीर रहेकाले थप उपचारका लागि भारतको नयाँ दिल्ली रिफर गर्ने तयारी गरेका थिए। तर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि रिफर प्रक्रिया अघि बढ्न नसकेको र केही समयपछि उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।