• Jana Kura

    • 2026-07-09

     

    काठमाडौं, असार २५ । सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कलेजका लागि नयाँ मापदण्ड लागू गरेको छ। अब नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्ने व्यवस्था गरिएको छ।

     

    मन्त्रिपरिषद्बाट स्वीकृत विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ ले अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय विश्वविद्यालयसँग मात्र सहकार्य गर्न सकिने व्यवस्था गरेको हो। यसअघि विदेशी सम्बन्धनका कार्यक्रम सञ्चालनका लागि रहेका मापदण्ड तुलनात्मक रूपमा लचिलो रहेकामा नयाँ नियमावलीमार्फत गुणस्तरमा थप कडाइ गरिएको छ।

     

    नियमावलीअनुसार सम्बन्धन लिने कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (Quality Assurance and Accreditation) प्रक्रिया पूरा गरेको हुनुपर्नेछ। साथै, पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति र शैक्षिक क्षमता रहेको प्रमाणित गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यही आधारमा सम्बन्धित कलेजको विद्यार्थी भर्ना कोटा निर्धारण गरिनेछ।

     

    शिक्षा क्षेत्रका जानकारहरूले नयाँ व्यवस्थाले गुणस्तरहीन विदेशी सम्बन्धनका शैक्षिक कार्यक्रमलाई निरुत्साहित गर्ने, अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर विस्तार गर्ने तथा उच्च शिक्षाप्रति विद्यार्थी र अभिभावकको विश्वास बढाउने अपेक्षा गरेका छन्।

     

    यद्यपि हाल सञ्चालनमा रहेका केही कलेजले नयाँ मापदण्ड पूरा गर्न थप लगानी, पूर्वाधार विस्तार र संरचनागत सुधार गर्नुपर्ने अवस्था आउने देखिएको छ।

     

    सरकारले त्यस्ता कलेजलाई मापदण्ड पूरा गर्न निश्चित समय उपलब्ध गराउने जनाएको छ। तोकिएको अवधिभित्र आवश्यक मापदण्ड पूरा गर्न नसके सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा प्रचलित कानुनअनुसार अन्य कारबाही गर्ने व्यवस्था नियमावलीमा गरिएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै