काठमाडौँ, २५ जेठ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ।
सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङमाथि डकवर्थ–लुइस (DLS) पद्धतिअनुसार १९ रनको जित निकाल्दै उपाधि हात पारेको हो। वर्षाले प्रभावित बनेको खेलमा निर्धारित लक्ष्य पछ्याइरहेको अवस्थामा खेल रोकिएपछि DLS पद्धतिका आधारमा नतिजा घोषणा गरिएको हो।
हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। वर्षापछि खेल पुनः सुरु हुन नसकेपछि नेपालले DLS पद्धतिअनुसार १९ रनले विजयी हुँदै उपाधि जितेको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६५ रन बनाए। उनले ४० बलमा ८ चौका र ३ छक्कासहित महत्वपूर्ण इनिङ खेले। अर्का ओपनर आसिफ शेख शून्यमा आउट भए भने कप्तान रोहित पौडेलले २४ बलमा ३५ रनको योगदान दिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो। हङकङका लागि अंशुमन रथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए। वासिफले २८ बलमा ५५ रन तथा शिव माथुरले २१ बलमा २६ रन जोडे।
नेपालका लागि बलिङतर्फ शेर मल्लले ४ विकेट लिए। करण केसीले २ विकेट तथा सन्दीप लामिछानेले १ विकेट लिए।
नेपालले सेमिफाइनलमा ओमानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने हङकङले मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
यी दुवै टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि पहिले नै छनोट भइसकेका छन्।