❝ हिमाली छुर्पी ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती कान्स रेड कार्पेटमा ❞
Jana Kura
2026-05-18
काठमाडौं, ४ जेठ । विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा यसपटक नेपाली उद्यमी दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा खनालले घरपालुवा जनावरप्रतिको प्रेम र जिम्मेवारीको सन्देश दिएका छन् ।
मोरङको उर्लाबारीका खनाल दम्पत्ती कुकुरलाई खुवाइने हिमाली छुर्पी उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक हुन् । उनीहरूले रेड कार्पेटमा आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’को सम्झनामा प्रेम, वफादारी र आत्मीयताको प्रतीक झल्किने विशेष पहिरन लगाएका थिए ।
भूपेन्द्र खनालले आफूले लगाएको पोशाकमा नेपाली मौलिकता, भारतीय शैली र पेरिसको डिजाइन समेटिएको बताए । उनका अनुसार यो केवल फेसन नभई आफ्नो पहिचान, संस्कृति, प्रेम र संघर्षपूर्ण यात्राको अभिव्यक्ति पनि हो ।
एक समय भारतमा सामाजिक सञ्जाल विश्लेषण कम्पनी सञ्चालन गरेका खनाल पछिल्लो एक दशकदेखि हिमाली छुर्पी उद्योगमा सक्रिय छन् । सन् २०१५ मा स्थापना भएको ‘डग्सी च्यू’ Dogsee Chew ले नेपाल र भारतका हिमाली भेगमा उत्पादन हुने छुर्पीलाई ‘हिमालयन याक च्यू’का रूपमा विश्व बजारमा पुर्याइरहेको छ ।
हाल यो ब्रान्ड ३० भन्दा बढी देशमा फैलिएको कम्पनीले जनाएको छ । वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार भइरहेको बताइएको छ । प्राकृतिक र स्वस्थ पोषण दिने उद्देश्यले उत्पादन गरिएको छुर्पी विश्वभरका लाखौँ घरपालुवा जनावर पाल्ने परिवारसम्म पुगेको कम्पनीको दाबी छ ।
सहसंस्थापक स्नेह शर्माले कान्समा सहभागितालाई घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणबारे विश्वभर बढ्दो सचेतनाको प्रतीक भएको बताइन् । उनले हिमालयमा जन्मिएको ब्रान्ड कान्सको रेड कार्पेटसम्म पुग्नु आफ्ना लागि अत्यन्त विशेष क्षण भएको उल्लेख गरिन् ।
पछिल्ला वर्षहरूमा घरपालुवा जनावरलाई परिवारकै सदस्यका रूपमा हेर्ने प्रवृत्ति बढ्दै गएको छ । त्यससँगै उनीहरूको स्वास्थ्य, पोषण र कल्याणबारे विश्वव्यापी बहस पनि तीव्र बन्दै गएको छ । खनाल दम्पत्तीको कान्स उपस्थितिलाई त्यही सन्देशको प्रतीकात्मक प्रस्तुति मानिएको छ ।