सुर्खेत २९ वैशाखः। नेपाली कांग्रेस का महामन्त्री प्रदीप पौडेल ले पार्टीको सदस्यता अद्यावधिक अभियान कसैको इतिहास मेट्न नभई सुरक्षित गर्न सुरु गरिएको बताएका छन् ।
सुर्खेतमा आयोजित कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा स्थानीय तह केन्द्रित प्रशिक्षण कार्यक्रममा बोल्दै सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलले पार्टीका पुराना सदस्यहरूलाई आशंकित नहुन आग्रह गरे ।
उनले केही नेताहरूले “बिपीबाट लिएको सदस्यताको इतिहास मेट्न खोजिएको” भन्दै सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति संकेत गर्दै, “तपाईंहरूको इतिहास मेट्न होइन, अझ सुरक्षित गर्न खोजेका हौँ,” भने ।
महामन्त्री पौडेलले कांग्रेसको इतिहासलाई डिजिटल प्रणालीमार्फत स्थायी रूपमा सुरक्षित गरिने बताए । उनका अनुसार अहिलेको आवश्यकता अनुसार पार्टी संरचना र सदस्यता प्रणालीलाई प्रविधिमैत्री बनाउनु जरुरी भइसकेको छ ।
उनले पछिल्लो निर्वाचनको उदाहरण दिँदै देशभर चुनाव लडिएको १६५ क्षेत्रमा धेरै ठाउँमा क्रियाशील सदस्य बराबर मतसमेत नआएको उल्लेख गरे । यही अवस्थाले सदस्यता प्रणालीलाई नयाँ ढंगबाट अद्यावधिक गर्नुपर्ने आवश्यकता देखाएको उनको भनाइ थियो ।
“पहिलेजस्तो आमसभा, जुलुस र पोस्टर टाँसेर मात्रै चुनाव जितिने अवस्था छैन,” पौडेलले भने, “प्रचारको शैली फेरिएको छ, तर हामीले त्यसलाई पूर्ण रूपमा आत्मसात गर्न सकेका छैनौँ ।”
उनले डिजिटल प्रणालीमा आबद्ध सदस्यहरूले पार्टीका नीति, नेतृत्व र निर्णयबारे प्रत्यक्ष रूपमा सुझाव दिन सक्ने व्यवस्था गरिने जानकारी दिए । यसले केन्द्र र कार्यकर्ताबीचको दूरी घटाउने तथा पार्टीलाई वैचारिक रूपमा बलियो बनाउने विश्वास उनले व्यक्त गरे ।
पौडेलले अद्यावधिक अभियान कसैलाई हटाउन नभई वास्तविक इतिहास सुरक्षित गर्दै पार्टीलाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले अघि बढाइएको स्पष्ट पारे । स्थानीय तथा प्रदेश निर्वाचनअघि सदस्यता अद्यावधिक गर्न सके पार्टी संगठन अझ सशक्त हुने उनको दाबी थियो ।