काठमाडौं २०८३ वैशाख २८ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् ।
स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभामा बोल्दै उनले कम्युनिस्ट कार्यकर्ताहरू एकताको पक्षमा रहे पनि वैचारिक स्पष्टता र संगठनात्मक नीति अभावका कारण विगतका एकता प्रयास दिगो हुन नसकेको बताए ।
उनले अन्तर्राष्ट्रिय स्तरमै कम्युनिस्ट आन्दोलन विभाजन र एकताको प्रक्रियाबाट अघि बढेको उल्लेख गर्दै नेपालमा पनि “सच्चा कम्युनिस्टहरूबीच” एकता अझ आवश्यक भएको धारणा राखे । साथै उनले देशमा वैदेशिक प्रभाव र साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै हालको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘यो कुराले के कुरा निष्कर्ष निकाल्नु गलत हुन्छ भने कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने कुरा होइन । विभाजन र एकताका थुप्रै श्रृखलाहरु हुँदै जसरी कम्युनिस्ट आन्दोलन आजको विन्दुसम्म आएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ठूलाठूला विवाद र बहस विभाजन एवम एकताको श्रृखला हुँदै अगाडि बढेको छ । सच्चा कम्युनिष्टहरुको बीचमा एकताको आवश्यकता अहिले झन विशेष रुपले बढेको छ ।’
उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि विभाजन र एकताको विभिन्न चरण हुँदै अघि बढेको स्मरण गराउँदै नेपालमा पनि सच्चा कम्युनिस्टहरूबीच एकता अझै बढी आवश्यक रहेको धारणा राखे ।