• Jana Kura

  • 2026-04-24

काठमाडौँ, ११ वैशाख —प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका वास्तविक सुकुम्वासीहरूको यथार्थ पहिचान गरी उनीहरूलाई सुरक्षित र स्थायी रूपमा व्यवस्थापन गर्ने सरकारको तयारी रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत शाहले वर्षौँदेखि दोहोरिँदै आएको सुकुम्वासी समस्या अब दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्। शाहका अनुसार वास्तविक सुकुम्वासीलाई यथासम्भव जग्गा उपलब्ध गराई सुरक्षित बसोबासको व्यवस्था मिलाइनेछ।

नदीकिनारमा बसोबास गर्ने परिवारहरू बाढीको जोखिममा पर्ने भएकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु आवश्यक भएको उनले बताएका छन्। “हरेक वर्ष बाढी आउँदा मानिसहरूले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने अवस्था दोहोरिन्छ,” शाहले भनेका छन्, “त्यसैले जोखिमरहित बसोबास सुनिश्चित गर्नु नागरिकको अधिकार हो।”

थापाथली लगायतका क्षेत्रमा रहेका बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गर्ने तयारी भइरहेको पनि उनले स्पष्ट पारेका छन्।

साथै, शाहले चुनावी प्रतिबद्धता र सरकारको कार्ययोजनामा सुकुम्वासी व्यवस्थापन तथा सरकारी जग्गा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखिएको स्मरण गराउँदै त्यसअनुसार काम अघि बढाइने बताएका छन्।

शाहकाअनुसार उद्देश्य स्पष्ट छ “वर्षौँदेखि थाती रहेको यो समस्याको स्थायी समाधान गर्दै सबैलाई सुरक्षित र सम्मानजनक जीवन दिनु।”

छुटाउनुभयो कि? सबै