❝ महासचिव गुटेरेसको भ्रमणबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप मजबुद हुनेछ : प्रधानमन्त्री ❞
2023-10-29
काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक भ्रमणबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेससँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । “निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्यौँ । मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो,त्यस्तै, नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिने विश्वास पनि प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो । “अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।