❝ पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता आजै राति १२ बजेदेखि लागू हुने ❞
2023-10-01
काठमाडाँै, १४ असोज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निमगले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको थियो।आज बसेको मन्त्रिपरिषद् बैठकले निमगले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो ।निगमले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको थियो । मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको थियो ।मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिइएको निगमले जनाएको छ ।