❝ तीजलाई विकृतिबाट मुक्त बनाउँदै लैजानुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ ❞
2023-09-16
जनकुरा
काठमाडौँ,३०भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएको छ ।शुक्रबार गृहमन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रममा उनले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको उल्लेख गर्दै महिला कर्मचारीलाई तीजको शुभकामना समेत दिए ।
तीज एक सामाजिक–सांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्नेमा उनले जोड दिनुभयो ।खानपिन तथा लवाइखुवाइको अनावश्यक तड्कभड्क देखाएर यसलाई विकृत बनाउन नहुने बताउँदै उहाँले भन्नुभयो, “उल्लास त गर्ने नै हो, तर आफ्नो जिम्मेवारीमा सधैँ प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर मनाउनुपर्छ ।” निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उहाँले स्मरण गर्नुभयो । उहाँले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्नेमा जोड दिनुभयो ।