• Jana Kura

    • 2022-11-13

    टोखा लाइभ।२०७९ कार्तिक २७ गते।

    टोखा लाइभ। काठमाडौँ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेन्द्र शाह र हर्क साम्पाङले पाएको विजयले अहिले देशैभरि दुईथरी उम्मेदवारको बाढी छ-एक, स्वतन्त्र उम्मेदवार रदुई, युवा उम्मेदवार ।

    पुराना नेता र परम्परागत दलप्रति असन्तुष्टि छ । धेरै हदसम्म वितृष्णा नै छ । यसको निशानामा शेरबहादुर देउवा, माधव नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनालहरू छन् । केही हदसम्म केपी शर्माप्रति पनि छ तर अरुको जति छैन । ओलीप्रतिको क्रेज अझै बाँकी छ भन्ने उनको सक्रियता र देशभर उनी पुगेका ठाउँमा युवाले दर्शाउने अपनत्वको व्यवहारबाट पुष्टि हुन्छ । यद्यपि सामाजिक सञ्जालमा नो नट एगेन नामक अभियानले एउटै डालोमा हालेर पुरानाहरुप्रति समान धारणा निर्माणको प्रयास गरिरहेको छ । उसको भित्री उद्देश्य के हो भन्ने विस्तारै खुल्दै जाला ।

    स्वतन्त्रप्रतिको क्रेज देखेर बजारमा अनेकथरी स्वतन्त्र देखापरेका छन् । बर्खे भेलमा माछा मार्न आएजसरी यही चुनावमा लाभ उठाउन खोज्नेको कुनै कमी छैन । केहीले स्वतन्त्र नाम राखेर पार्टी नै खोले भने केहीले पार्टीको नाम लुकाएर लौरो चिन्हको प्रचार गर्दै जनताको मत हात पार्ने कोसिस गरिरहेका छन् ।हुँदाहुँदा मूल धारका पार्टीको टिकट लिएर चुनावी मैदानमा उत्रिएकाहरु समेत मुद्दाका हिसाबले आफू स्वतन्त्रजस्तै रहेको भनेर भोट मागिरहेका छन् । जस्तो कि कांग्रेसबाट काठमाडौँ-५ का उम्मेदवार प्रदीप पौडेल, जो आफू स्वतन्त्रजस्तै भएकाले भोट दिनुपर्ने भन्दै मतदाताका घरदैलोमा पुगिरहेका छन् ।दलीय व्यवस्थामा जब कोही वैचारिक रुपमा टाट पल्टिन्छ, अनि आफूलाई स्वतन्त्र भन्न थाल्छ । उसले पार्टीको झण्डा लुकाउँछ। पार्टीका मुद्दामा चर्चा गर्न लाज मान्छ । अहिले प्रदीप पौडेललाई यस्तै भइरहेको देखिन्छ । उनी शानसँग कांग्रेस उम्मेदवार भन्न लाज मानिरहेका छन् ।

    कांग्रेसका एजेन्डा आफ्ना पनि एजेन्डा हुन् भन्न सकिरहेका छैनन् । शेरबहादुर देउवा र विजयकुमार गच्छदारकै पार्टीबाट आफू पनि उम्मेदवार छु भन्न सकिरहेका छैनन् । विश्वप्रकाशले बनाएको घोषणापत्र मेरो पनि घोषणापत्र हो भन्ने हिम्मत उनले देखाएका छैनन् । गगन थापालाई संसदीय दलमा साथ दिन्छु भन्न पनि सकेका छैनन् । मोही माग्ने ढुंग्रो लुकाउने शैलीमा उनी भन्दै छन्- मुद्दाका हिसाबले म पनि स्वतन्त्र हुँ ।ढाँट्ने पनि हद हुन्छ नि । उनी कसरी स्वतन्त्र भए ? कहिलेबाट स्वतन्त्र भए ? कांग्रेसको सदस्यता उनले त्यागेका हुन् र ? कांग्रेसको मुद्दा बोक्न नसक्नेले किन कांग्रेसबाट चुनाव लड्नु ? यदि कांग्रेसकै मुद्दामा चुनाव लडेका हुन् भने मतदातालाई किन ढाँट्नु ?

    यसबाट के पुष्टि हुन्छ भने प्रदीप पौडेल कुनै वैचारिक नेता होइनन् । उनीसँग कुनै स्पष्ट नीति वा विचार छैन । युवाको नाममा उनी खोक्रो उम्मेदवार हुन् । स्वतन्त्रको आकर्षण देखेर उनी पनि भेल छोप्न आइपुगेका छन् । अघिल्लो चुनावमा आफ्नै गृहजिल्लाका बासिन्दाले गरेको मूल्यांकनलाई जसरी पनि गलत सावित गर्न चाहन्छन् । त्यसैले उनी चुनाव जित्न जे पनि गर्ने तहमा ओर्लिएका छन् र कांग्रेसको पहिचान लुकाएर तनहुँबाट कुलेलम ठोकी काठमाडौँवासीका घरदैला डुल्दै छन् ।

    काठमाडौँ क्षेत्र नं ५ मा नेकपा एमालेका तर्फबाट पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चुनौती दिनुपर्ने अवस्थामा प्रदीप छन् । पोखरेल आफैमा हेभिवेट उम्मेदवार हुन् । त्यसमाथि एमालेको विशेष पकड भएको क्षेत्र हो- काठमाडौँ-५ ।२०७४ मा एमालेका पोखरेलले कांग्रेसका प्रकाशशरण महतलाई जीवनभर सम्झिने गरी हार चखाइदिएका थिए । त्यही हारको तोडले हुन सक्छ, महतले यसपालि चुनावै लड्ने आँट गरेनन् । यसपालि पोखरेलसँग हार्ने पालो प्रदीप पौडेलको हुने संकेत देखिँदै छ ।

    यस क्षेत्रमा ७० हजार ९ सय १९ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका चार, बूढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वटा वडा समेटिएका छन् । यस क्षेत्रभित्र काठमाडौँ महानगरका २,३,४,५, बूढानीलकण्ठ नगरपालिकाका ३,४,५,६,७ र टोखा नगरपालिकाका २,३,४,५,६,७ वडा रहेका छन् ।गत वैशाखमा भएको स्थानीय निर्वाचनमा यस क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् । उक्त चुनावी नतिजालाई हेर्दा एमालेका वडाध्यक्षले कूल १७ हजार ९ सय ५२ र कांग्रेसका वडाध्यक्षले १२ हजार ५ मत प्राप्त गरेका छन् । यस्तै एकीकृत समाजवादीले १ हजार ८ सय ३९ र माओवादी केन्द्रले ७ सय २० मत प्राप्त गरेका छन् ।

    सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले एक्लैको ३ हजार ३ सय ८८ मतान्तरले अगाडि छ । बहुमत मतदाता एमालेकै रहेको र प्रायः एमालेका प्रतिबद्ध मत हुने भएकाले यसपालि पनि पोखरेलले जित्ने लगभग निश्चित देखिन्छ ।यहाँका मतदाताले स्वतन्त्र नै छान्नुपरे पनि अनेक रुप र आकारका स्वतन्त्र उम्मेदवार यहाँ छन् । रञ्जु दर्शनादेखि टेलिशृंखला ‘सक्किगोनी’ का कलाकार मधुसुदन पाठक (सिते बा) यस क्षेत्रबाट चुनावी मैदानमा छन् । मुद्दाकै हिसाबले वैकल्पिक राजनीतिको लागि पैरवी गर्ने उम्मेदवारका रुपमा रञ्जु नै छन् भने प्रदीप पौडेलले आफूलाई स्वतन्त्र भनेर बेच्नुको कुनै अर्थ छैन । खासमा उनीसँग उमेरले कान्छो हुनुबाहेक अर्को कुनै योग्यता छैन ।

    प्रदीपसँग राजनीति सुधार्ने पनि कुनै अजेन्डा छैन । अर्को दल र नेतालाई गाली गरेर आफू राम्रो बन्ने परम्परागत नेताकै स्वभाव उनले पनि वरण गरेका छन् । उनको स्कुलिङ झनै खतरनाक छ । अहिले शीर्ष तहमा रहेका नेतामा पद र शक्तिमा पुगेपछि विचलन आएको हो । युवा छँदा त उनीहरुले ठूलै त्याग र संघर्ष गरेका हुन् । तर प्रदीप पौडेल र गगन थापा यस्तो पुस्ताको प्रतिनिधित्व गर्छन्, जो विद्यार्थी राजनीतिकै भ्रष्टीकरण गरेर आएका हुन् । जसको एक मात्र आदर्श हो– ढुंगामुढा बर्साउनु, क्याम्पसमा ताल्चा ठोक्नु, शिक्षकलाई मोसो दल्नु, ठमेलका गुण्डा लगेर त्रिचन्द्र कलेजमा आतंक मच्चाउनु र स्ववियुमा बसेर क्याम्पसको बजेट तथा अरु स्रोतसाधनमा हालीमुहाली गर्नु । के हामीले चाहेको युवा नेतृत्व यस्तै हो त ?

    भ्रष्ट विद्यार्थी राजनीतिबाट उदाएका प्रदीप पौडेल र गगन थापाले नेविसंघको चितवन महाधिवेशनलाई गुण्डागर्दीकै सहायताले कसरी असफल बनाएर र पोखरा पुर्‍याएर बौद्धिक एवं सादगीयुक्त नेता बद्री पाण्डेलाई कसरी हराए भनेर थाहा नपाउने सम्भवतः अहिले कुनै कांग्रेसी छैन । त्यसमाथि प्रदीप पौडेलको जीवनशैली हेर्ने हो भने पनि अर्को पाटो उदांगो हुन्छ । उनमा कुनै मौलिकता छैन, रचनाशीलता छैन । कुनै विशेषज्ञताको क्षेत्र छैन । प्रतिभायुक्त चिनारी कुनै छैन । उद्यम र इलम छैन । नियमित र वैध आय छैन । राजनीतिआश्रित उनको जिन्दगी कसरी चलेको छ ? यी प्रश्नको उत्तर मात्र खोज्ने हो भने पनि उनी साँच्चिकै आजका युवाले खोजेजस्ता नेता वा उम्मेदवार हुन् कि होइनन् भन्ने प्रस्ट हुन्छ । बरु युवा वा स्वतन्त्रको भावना रञ्जु दर्शना र सिते बाले समेट्छन् ।

    पौडेल कुन हैसियतका नेता हुन् भन्ने कुरा जापान भ्रमणमा उनले व्यहोरेको अन्तर्राष्ट्रिय बेइज्जतीबाटै प्रस्ट हुन्छ । पाँच वर्षअघि उनी जापानको हानेदा एयरपोर्टमा पुग्दा उतै लुक्न सक्ने आशंकामा त्यहाँको अध्यागमनले घण्टौँ नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । उनका गतिविधि शंकास्पद देखिएपछि अन्ततः नेपाल फर्काइदिएको थियो । नेपाली दूतावासका अधिकारीले एयरपोर्टमै पुगेर ग्यारेन्टी पत्र पेस गर्दा पनि उनलाई जापान प्रवेश नदिएको घटनाले प्रदीपको शंकास्पद पृष्ठभूमि प्रस्ट हुन्छ । उनले पार्टी काममा विदेश जाने नाममा मानव तस्करी गरिरहेको सूचना जापान अध्यागमनले फेला पारेपछि उनलाई एयरपोर्टबाटै फर्काइदिएको कुरा त्यतिखेर सञ्चारमाध्यममा व्यापक बनेको थियो ।तसर्थ युवा वा स्वतन्त्रका नाममा कुनै विश्वासलाग्दा अजेन्डा नभएका खोक्रा उम्मेदवारलाई अनुमोदन नगरौँ । विद्यार्थीकालमै राजनीतिक भ्रष्टीकरण र अपराधीकरणमा ख्याति कमाएकाहरुलाई यही चुनावबाटै मूलधारको राजनीतिमा जानबाट रोकौँ । यो समाचार वर्णन मिडिया डट कम बाट ।

    साभार: वर्णन मिडिया डट कम

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै